कान्तिपुर.com

काठमाडौँ नेपालको सङ्घीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर

प्रकृतिको बीचमा नेपाली बच्चाहरू

काठमाडौँ - हिमालयको प्रवेशद्वार

परिचय

काठमाडौँ नेपालको सङ्घीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। यो महानगर बागमती प्रदेश तथा मध्य नेपालको अग्लो पठारको रूपमा रहेको काठमाडौँ उपत्यकामा १,४०० मिटर (४,६०० फिट) को उचाइमा अवस्थित छ। यो भारतको श्रीनगर सहरपछि हिमालय पहाडी क्षेत्रमा अवस्थित दोस्रो ठुलो सहर हो र हिमालय पहाडी क्षेत्रको सबैभन्दा ठुलो महानगरीय क्षेत्र हो। वि.सं. २०७८ को जनगणना अनुसार यो महानगरको कुल जनसङ्ख्या ८,६२,४०० रहेको छ भने यहाँ २,३८,९६६ घरधुरी रहेका छन्।

प्रागऐतिहासिक इतिहास भएको यो नगर ईशा पूर्व दोस्रो शताब्दीमा स्थापना भएको र विश्वको सबैभन्दा पुरानो निरन्तर बसोबास गर्ने ठाउँहरू मध्येको एक हो। यो उपत्यकालाई ऐतिहासिक रूपमा "नेपाल मण्डल" र मध्यकालमा "कान्तिपुर" भनिन्थ्यो। यो उपत्यका प्राचीन कालदेखि नेवार मानिसहरूको मूल घरको रूपमा रहेको छ। हिमालयको फेदमा रहेको सर्वदेशीय सहरी सभ्यता बोकेको यो सहर नेपाल अधिराज्यको राजधानी र नेपालका कुलीन वर्गका दरबार, महल र बगैँचाहरूद्वारा सुसज्जित छ। यो सहरमा सन् १९८५ देखि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको मुख्यालय रहेको छ।

इतिहास

व्युत्पत्ति

काठमाडौँलाई आदिवासी नेपाल भाषामा 'येँ' भन्ने गरिन्छ। काठमाडौँको नेपाली नाम काठमाडौँ दरबार क्षेत्रमा रहेको 'काष्ठमण्डप'बाट आएको हो। संस्कृत भाषामा काष्ठको अर्थ 'काठ' र मण्डपको अर्थ 'देवपूजा गर्ने स्थान' हुन्छ। यो सार्वजनिक मण्डपलाई नेपाल भाषामा 'मरसतः' पनि भनिन्छ जसलाई मल्लकालीन राजा लक्ष्मीनरसिंह मल्लको पालामा बिसेत नामक व्यक्तिले सन् १५९६ मा पुनर्निर्माण गरेका थिए। तीन तले यो संरचना पूर्णतया काठले बनेको थियो र यसमा कुनै फलामको कील वा कुनै समर्थन प्रयोग गरिएको थिएन। पौराणिक कथा अनुसार यस मण्डपको प्यागोडा निर्माण गर्न प्रयोग गरिएको सबै काठ एउटै रूखबाट प्राप्त भएको थियो। वि.सं. २०७२ सालमा नेपालमा गएको ठुलो भूकम्पमा यस मण्डपको संरचना भत्किएको थियो।

प्राचीन काल

काठमाडौँ नगरको प्राचीनतम् इतिहास धार्मिक ग्रन्थ, परम्परागत मिथक, किंवदन्ती तथा वंशावलीहरूबाट प्राप्त गर्न सकिन्छ। नेपालको प्रमुख प्राचीन ग्रन्थ स्वयम्भू पुराणका अनुसार वर्तमान काठमाडौँमा कुनै समय नागदह नामको विशाल र गहिरो ताल सर्पले भरिएको थियो। महाचीनबाट बुद्ध धर्मका बोधिसत्त्व मञ्जुश्रीले दहमा आलौकिक रश्मि देखेर यहाँ मानव वस्ती निर्माण गर्ने निधो गरेपछि दहको दक्षिणमा रहेको कच्छपाल पर्वतमा चन्द्रह्रास खड्गले प्रहार गरेर यहाँको पानी निकास गरिदिएका थिए। त्यसपछि उनले 'मञ्जुपट्टन' नामक सहर स्थापना गरे र धर्मकारलाई उपत्यकाको शासक बनाएर आफू चीनतर्फ लागेका थिए।

मध्यकालीन युग

इतिहासका विभिन्न कालखण्डमा विभिन्न राजवंशले शासन गरेको यो नगर नेपालको एकीकरण कालदेखि नेपालको राजधनीको रूपमा रहेको छ। पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खाली सेनाले काठमाडौँ उपत्यका विजय गरेपछि वि.सं. १८२६ चैत १० मा यो नगरलाई राजधानी बनाएका थिए। देशको राजधानी रहेकै कारण यो सहरमा राष्ट्रपति निवास, प्रधानमन्त्रीको कार्यालय (सिंहदरवार), नेपाल सरकारको केन्द्रीय सचिवालय तथा मन्त्रालयहरू, सरकारी तथा निजी टेलिभिजन स्टेसनहरू लगायत उल्लेखनीय सङ्ख्यामा सरकारी तथा निजी रेडियोहरू र समाचार संस्थाहरू रहेका छन्। नेपाली सेनाको केन्द्रीय कार्यालय जङ्गी अड्डा, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यसै नगरमा रहेका छन्।

भूगोल

काठमाडौँ उपत्यकाको उत्तरपश्चिमी भाग र बागमती नदीको उत्तरमा रहेको काठमाडौँ सहरले ५०.७ किमी² (१९.६ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। समुद्र सतहदेखि यसको औसत उचाइ १,४०० मिटर (४,६०० फिट) रहेको छ। काठमाडौँ उपत्यकाभित्र रहेका अन्य नगरपालिकाहरूले यो सहरसँग सीमा साझा गर्दछ। यो सहरलाई बागमती नदीको दक्षिणमा रहेको ललितपुर महानगरपालिकाले रिङरोडले घेरिएको एउटा सहरी क्षेत्र बनाउँछ भने दक्षिणपश्चिममा कीर्तिपुर नगरपालिका र पूर्वमा मध्यपुर थिमी नगरपालिकाले गरेको छ। यसै प्रकार यो सहरको उत्तरमा नागार्जुन, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका रहेका छन्। यद्यपि, सहरी परिवेश र व्यवस्थापन यसको छिमेकी नगरपालिका भक्तपुरसम्म फैलिएको छ र यसले लगभग सम्पूर्ण काठमाडौँ उपत्यकालाई समेट्ने गर्छ।

उपत्यकाको मुख्य नदीको रूपमा रहेको बागमती र यसका सहायक नदीहरू, जसमध्ये विष्णुमती, धोबीखोला, मनोहरा खोला, हनुमन्ते खोला र टुकुचा खोला प्रमुख छन्। यी उपत्यकाका आठ नदीहरूले काठमाडौँलाई विच्छेद गरेको छ। यी नदीहरू १,५००–३,००० मिटर (४,९००–९,८०० फिट) को उचाइबाट उत्पत्ति हुन्छन् र नदीसँगै रहेका डाँडाहरूले काठमाडौँ र यसको उपत्यकाबाट पहुँच प्रदान गर्दछ।

हावापानी

नेपालमा पाँच प्रमुख हावापानी क्षेत्र पाइन्छ। काठमाडौँ उपत्यकाको १,२०० देखि २,३०० मिटर (३,९०० देखि ७,५०० फिट) सम्मको उचाइमा पर्ने क्षेत्रहरूको हावापानी एकदमै समशीतोष्ण छ जुन यस क्षेत्रको लागि असामान्य रहेको छ। उपत्यकाको २,१०० र ३,३०० मिटर (६,९०० र १०,८०० फिट) बीचको उचाइमा पर्ने भागहरूमा शीत शीतोष्ण हावापानीद्वारा पछ्याइएको छ। कोपेन जलवायु वर्गीकरण अन्तर्गत, तल्लो उचाइ भएका सहरका भागहरूमा आर्द्र उपोष्णकटिबन्धीय हावापानी रहेको छ, जबकि उच्च उचाइ भएका सहरका केही भागहरूमा सामान्यतया उपोष्णकटिबन्धीय समुद्री जलवायु रहेको छ। उपत्यकाको हावापानीको प्रतिनिधित्व गर्ने काठमाडौँ उपत्यकामा गर्मीको औसत तापक्रम २८ देखि ३० डिग्री सेल्सियस (८२ देखि ८६ डिग्री फारेनहाइट) सम्म हुन्छ। जाडोयाममा यहाँको औसत तापक्रम १०.१ °से (५०.२ °फे) हुन्छ।

सहरमा सामान्यतया दिन न्यानो हुने गर्छ भने रात र बिहानको मौसम चिसो हुन्छ। जाडोको समयमा यहाँको तापक्रम १ °से (३४ °फे) वा कममा झर्ने भएको हुनाले सो मौसममा यहाँको तापक्रम अप्रत्याशित हुने गरेको छ। सन् २०१३ को चिसोयामको आरम्भमा काठमाडौँ तापक्रम −४ °से (२५ °फे)मा झरेको थियो भने सबैभन्दा कम तापक्रम सन् २०१३ जनवरी १० मा −९.२ °से (१५.४ °फे) तापक्रम रेकर्ड गरिएको थियो। उपत्यकाको वर्षा प्रायः मनसुनमा आधारित हुन्छ (जुनदेखि सेप्टेम्बरसम्मको मनसुन महिनाहरूमा केन्द्रित कुल वर्षाको लगभग ६५%), र पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म पर्याप्त मात्रामा (१०० देखि २०० सेमी (३९ देखि ७९ इन्च)) घट्छ। काठमाडौँ उपत्यकामा करिब १४०० मिलिमिटर (५५.१ इन्च) र काठमाडौँ सहरमा औसत १४०७ मिलिमिटर (५५.४ इन्च) वर्षा रेकर्ड गरिएको छ। यहाँको औसत आर्द्रता ७५% छ।

जनसाङ्ख्यिकी

काठमाडौँको विश्वव्यापी सहरी चरित्रले यसलाई नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर बनाएको छ। नेपालमा भएको वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार काठमाडौँको जनसङ्ख्या ९,७५,४५३ रहेको छ। वि.सं. २०५८ को जनगणनाको सन्दर्भमा यो सहरको वार्षिक जनसङ्ख्या बृद्धि दर ६.१२% रहेको थियो। काठमाडौँमा बसोबास गर्ने कुल जनसङ्ख्याको ७०% मानिसहरू १५ देखि ५९ वर्षका छन्।

एक दशकमा काठमाडौँको जनसङ्ख्या वि.सं. २०४८ मा ४,२७,०४५ बाट बढेर वि.सं. २०५८ मा ६,७१,८४६ पुगेको थियो। काठमाडौँको वि.सं. २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ९,७५,४५३ रहेको थियो भने वि.सं. २०७८ को प्रारम्भिक जनगणना प्रतिवेदन अनुसार यहाँको जनसङ्ख्या ११.२३% घटेर ८,६५,९०६ पुगेको छ।

जातीय समूह

काठमाडौँको सबैभन्दा ठुलो जातीय समूह उपत्यकाको मूल निवासी नेवारहरू हुन्, जसको विभिन्न जात समूहहरूको संयुक्त जनसङ्ख्या २५% रहेको छ। जनसङ्ख्याको हिसाबले काठमाडौँ महानगरपालिकामा बाहुनहरू लगभग २४% छन् भने क्षेत्रीहरूको जनसङ्ख्या १८% रहेको छ। काठमाडौँका अन्य जाति समूहहरूमा तामाङ (८%), मगर (४%), गुरुङ (३%), राई (२%) र लिम्बू (१%) सहित जनजातिहरू समावेश छन्। पहाडी क्षेत्रका विभिन्न जातीय समूह र तराई क्षेत्रका रैथाने जातीय समूहहरूले काठमाडौँ सहरको जनसङ्ख्या अनुपातको पर्याप्त मात्रामा प्रतिनिधित्व गरिरहेका छन्। यस नगरमा लगभग १२,००० मारवाडीहरू छन् जुन मुख्य रूपमा व्यापारीहरू हुन्। वि.सं. २०६८ को तथ्याङ्क अनुसार काठमाडौँ सहरमा सबैभन्दा प्रमुख धर्म हिन्दु धर्म रहेको छ जसको जनसङ्ख्या ८१.३% रहेको छ। यसै प्रकार बौद्ध ९%, इस्लाम ४.४% र अन्य जातजाति ५.२% रहेका छन्।